परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्च स्तरीय भेटवार्ता गर्ने

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलङ्कामा उच्च स्तरीय भेटवार्ता गर्ने भएकी छन् ।

श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसकाे अवसरमा कोलोम्बोमा हुने विशेष कार्यक्रमकाे अतिथिका रूपमा सहभागी हुन उनी यही माघ २० र २१ गते त्यसतर्फ जाँदैछिन् ।

त्यहाँ उनले आफ्ना समकक्षीसँगै राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

उनले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षी अली साब्रीसँग भेटवार्ता गर्नेछिन् । यसैगरी, स्वतन्त्रता चाेकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा उनी सहभागी हुने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री पौड्यालले माघ २१ गते श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछिन् । राष्ट्रपतिले उनकाे स्वागतमा राष्ट्रपति भवनमा विशेष समाराेह आयोजना गर्नेछन् ।

पर्सि बिहीबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्री पौड्याल माघ २५ गते काठमाडाैं फर्कने छिन् ।