काठमाडौं महानगरको विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनोट

काठमाडौं। काठमाडौं महानगरपालिकाले विकास सहायता कार्यक्रमका लागि प्राप्त भएका २०४ वटा प्रस्तावमध्ये ८९ वटा छनोट गरेका छन् ।

सामाजिक विकास विभागमा प्राप्त भएका प्रस्तावहरुका आधारमा बजेटको सीमाभित्र परेका अधिकतम अंक प्राप्त गर्ने र कागज तथा प्रमाण पूरा भएका प्रस्ताव छनोट गरिएको महानगरकी उपप्रमुख सुनिता डङ्गोलले बताए ।

प्राप्तमध्ये आङ्शिक कागजपत्र र प्रमाण नपुगेका १०३ वटालाई प्रतीक्षा सूचीमा राखिएको छ । १०० अंकमा गरिएको मूल्याङ्कनका सूचकमा कार्य अनुभव, जनशक्ति, कार्यक्रम अवधि, प्रस्तावित कार्यक्रममा सहभागी हुने लक्षित वर्ग र संख्या, भौतिक संरचना, रोजगारी, लागत सहभागितालगायत शीर्षकमा अंक प्रदान गरिएको थियो ।

सचेतनामूलक कार्यक्रमका लागि दुई लाख ५० हजार र रोजगारमूलक कार्यक्रमका लागि पाँच लाख उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ ।

अनुदान प्राप्त गर्नेले सम्झौतापछि ६० प्रतिशत र कार्य सम्पन्न भएको प्रतिवेदन पेश गरेपछि बाँकी ४० प्रतिशत रकम पाउनेछन् । गत पुस २१ गते बसेको समितिको बैठकले प्राप्त प्रस्ताव मूल्याङ्कन गर्न वडा नं २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा सूचक निर्धारण तथा छनौट समिति गठन गरेको थियो । समितिको सदस्यमा कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गी छन् ।