राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर रणनीतिक पूर्वाधारको छनोट र निर्माण गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर रणनीतिक पूर्वाधारको छनोट र निर्माण गर्नुपर्ने बताएकी छिन् ।

संघीय संसदको संयुक्त बैठकले शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सडकलाई सामान्य पूर्वाधारको रुपमा मात्रै नलिइ देशभरको नागरिकलाई एकताको सुत्रमा बाँध्ने, भावनात्मक रुपमा जोड्ने कडिको रुपमा लिएर निर्माण गरिनुपर्ने बताएकी छिन् ।

‘सबै स्थानीय तहको वडा वडासम्म स्तरीय सडक सञ्जाल पुर्‍याउने र राज्यबाट प्रदान गरिने अन्य सेवालाई जोड्ने र उत्पादनका साधन उत्पदानस्थलसम्म पुर्‍याउन र उत्पादित सामग्री बजारसम्म पुर्‍याउन सहज हुने गरि यातायात विकास गर्ने, आमनागरिक सहज र सुभल ढंगले यातायात सुविधा पुर्‍याउने, निर्माणाधीन सडक पूर्वाधार निर्धारित समयभित्रै सम्पन्न गर्ने र सडक यातायातलाई भरपर्दो र सुरक्षा बनाउने कार्य हाम्रो प्राथमिकता हुनुपर्दछ’ भण्डारीले भनिन्, ‘आवश्यकता, औचित्य, दिगो सञ्चालनको सुनिश्चत गरेर मात्रै पूर्वाधारको खाका तयार गर्दा उपयुक्त हुन्छ ।’

भण्डारीले सडकमा दुर्घटनाको विषयमा सम्बोधन क्रममा चासो राखेकी छिन् । ‘देशमा दिनदिनै जस्तो हुने सडक दुर्घटनाको कारण नागरिकले आकालमै मृत्युवरण गर्नुपरेको वास्तविकतालाई गम्भीरतापूर्वक लिँदै सडक दुर्घटना नियन्त्रणका प्रभावकारी उपायहरु अबलम्बन गरेर नेपाल यातायात सेवा सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक छ’ भण्डारीले भनिन्, ‘सडक दुर्घटना न्यून गरि जनधनको सुरक्षाका लागि सरकारले प्रभावकारी उपायसहित आवश्यक कदम चाल्नु पर्दछ । हवाइ यातायातलाई सर्वसुभल बनाइ थप सुरक्षित बनाउन आवश्यक देखिन्छ।’