काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन् । आइतबार राति बालुवाटार पुगेर कांग्रेस नेताहरूले आफूहरूसँग गठबन्धन गरेर राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका हुन् ।
भेटमा सहभागी कांग्रेसका एक नेताले आफूहरूले पहिलेको माओवादीसँगको सहकार्यलाई सम्झाएको बताए ।
“एकदमै सौहार्द वातावरणमा कुरा भयो । मैले नै हिजो मिलेर चुनाव पनि लड्यौँ । सरकार पनि हिजो गठबन्धनमा चलायौँ । त्यसपछि चुनाव पनि मिलेर लड्यौँ । ओलीजीसँग भन्दा हामीसँग गठबन्धनमा सहज हुन्छ भनेर आएका छौँ,” एक नेताले भने।
ती नेताले थपे, “प्रचण्डजीलाई हिजो बीचमा सहकार्य बिग्रिएको हो । थोरै असमझदारी भएर बिग्रियो । तर, हामीले विश्वासको मत दिएका छौँ । राष्ट्रपतिमा हामीलाई सहयोग गर्नुहोस् भनेर आयौँ ।”
जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय लिने बताएका छन् । “तपाईंहरूको कुरा ठिकै हो । हामी मिलेर चुनाव लडेको हो । म पार्टीमा छलफल गर्छु भन्नुभयो,” प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, “म राष्ट्रिय सहमति भनेर लागि रहेको छु । म प्रयास गरिरहेको छु ।”
कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलाले बालुवाटार पुगेका थिए ।
बालुवाटार जानुअघि धुम्बाराहीमा कांग्रेस नेताहरूले एक घण्टा छलफल गरेका थिए ।


















