एसीसी प्रिमियर कप : नेपालको लज्जास्पद व्याटिङ, सन्दीप लामिछानेले इज्जत जोगाए

काठमाडौं, १४ वैशाख  । अन्तिम विकेटका लागि आएका सन्दीप लामिछानेले लाज जोगाइदिदा नेपाली क्रिकेट टोली लज्जास्पद अवस्थाबाट बचेको छ ।
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत कतार विरुद्ध क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालका सबै व्याट्सम्यान सस्तोमा बाहिरिदा नाजुक अवस्थामा पुगेको नेपाली टोलीको इज्जत लेगस्पिनर लामिछानेले बचाएका छन् ।

उनले अन्तिम विकेटका लागि ललित राजवंशीसंग र आठांै विकेटका लागि गुलशन झासंग मिलेर ५८ बलको सामना गरेर ६ वटा चौकाको सहयोगमा नटआउट ४२ रन जोड्दा नेपालले ४० ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ५७ रन बनाएको छ ।

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २७ ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन बनाउँदा सन्दीप लामिछाने व्याट बोकेर मैदानमा प्रवेश गरेका थिए । गुलसन पनि ७ रनमा बाहिरिएपछि सन्दीपले ललित राजवंशीसंग अन्तिम समयसम्म टिकेर खेलेका थिए ।
नेपालका सबै व्याट्सम्यानले आज जित्नै पर्ने खेलमा कतारविरुद्ध कमजोर प्रदर्शन गरे । ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट हुँदा भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा बाहिरिएका थिए ।

यस्तै प्रारम्भिक व्याट्सम्यान आसिफ शेख १९ रन, कप्तान रोहितकुमार पौडेल, २७ रन बनाएर आउट भए ।
कुशल मल्ल ३ रन, सोमपाल कामी ११ रनमा आउट हुँदा नेपाल निकै दबाबमा परेको थियो ।
यसरी नै आरिफ शेख ११ रनमा र दीपेन्द्रसिंह ऐरी १२ रनमा आउट भए । राजवंशी १ रनमा आउट भए ।
कतारका अमिर फारुकले ४ विकेट, ओइस अहमेदले ३ विकेट र मुनवीराले २ विकेट हात पारे ।
१ सय ५८ रनको विजय लक्ष्य लिएको कतार केही बेरमा जवाफी व्याटिङमा उत्रिदैछ ।