पूर्व प्रधानमन्त्री डा. भट्टटराईले भने :- रेशम चौधरी क्रान्तिकारी हुन्

काठमाडौं,३ जेठ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी नेता भएको बताएका छन् ।

बुधबार उनले समाजिक संञ्जाल ट्वीटरमार्फत अदालतका न्यायाधीश र क्रान्तिकारीबीच अन्तरविरोध चलिरहने भन्दै रेशमलाई क्रान्तिकारीको संज्ञा दिएका हुन् ।
ट्वीटरमा उनले लेखेका छन्,

‘अदालत र न्यायाधीशले पुराना÷विद्यमान कानून, नजीर, सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् । क्रान्तिकारीले पुरानो÷विद्यमानसँग विद्रोह गरेर नयाँ÷भविष्यमुखी सोंच÷मान्यता÷विधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन् । इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ । रेशम चौधरी क्रान्तिकारी हुन् । सलाम ।’

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट–थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एकजना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई रेशम चौधरीले जन्मकैदको सजाय भोगीरहेका छन् । उच्च अदालत दिपायलले सुनाएको जन्मकैदको सजायलाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको छ ।