काठमाडौं, जेठ २४ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट तीन जिल्लामा मात्रै केन्द्रित भएको भन्ने विषयमा सरकारसंग कुरा गर्ने बताएका छन् ।
बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले, बजेट डडेलधुरा, गोरखा र नुवाकोटमा मात्रै केन्द्रित गरेर ल्याएको भन्ने सुन्नमा आएको भन्दै त्यसबारे थप कुरा गर्ने बताएका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आएको भन्दै यसबारे आफू जानकार नभएको उल्लेख गरे ।
उनले सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारे पार्टीका नेता, सत्तारुढ दलका नेताहरू र गठबन्धनका नेताहरुसँग बुझ्न बाँकी रहेको पनि बताए । ‘नेपाल भारत भ्रमणको पनि चर्चाको विषय बन्यो, त्यसमा प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आयो । कुनै प्रतिक्रिया सकारात्मक कुनैमा कतिपय कुराहरु नगरेको भए हुने जस्तो आयो ।’ उनले भने ‘त्यसैले सबै प्रक्रियालाई विचार गरेर गरिएको हो की होइन, यसबारेमा सबै कुरा बुझ्न बाँकी छ, मेरो पहिलो काम पार्टीका नेता र सत्तामा रहेका नेताहरूसँग भेटेर कुरा गर्ने रहेको छ ।’
उनले विदेशमा रहेका नेपालीहरूले नेपालमै बस्ने र लगानी गर्ने वातावरणको सिर्जना गर्ने विषयलाई जोड दिएको बताए ।


















