काठमाडौं, असार ६ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बुधबार विहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभामा आजदेखि नयाँ अभ्यास सुरु भएको छ ।
प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला सांसद सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गरी बैठक स्थगन गर्ने परम्परा सुरु गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा पनि बजेटको मन्त्रालयगत विनियोजनमाथि छलफल हुने कार्यक्रम थियो ।
बैठकमा सभामुख देवराज घिमिरेले सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्बीबहादुर सिंहको मंगलबार उपचारको क्रममा निधन भएको जानकारी गराउँदै शोक प्रस्ताव पेश गरेका थिए ।
शोक प्रस्ताव पारित गरेपछि बैठक स्थगित गरिएको जानकारी सभामुख घिमिरेले दिएका थिए । नेपाली कांग्रेसबाट प्रदेश सभामा निर्वाचित सिंह हाल आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।
मंगलबार दिउँसो मन्त्री सिंह सवार सुदूरपश्चिम प्रदेश–०१–००१ झ ४८० नम्बरको जिप बझाङको केदारस्यु गाउँपालिका–१ नयाँ गाउँमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहको उपचारको क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा निधन थियो ।
दुर्घटनामा मन्त्री पत्नी अमृता सिंहको र मन्त्रीकी भाउजु जयादेवी सिंहको भने घटनास्थलमा नै मृत्यु भएको हो ।


















