काठमाडौं, असार ७ । कृषि तथा पशुपन्छि मन्त्री वेदुराम भुषालले मलको आयात र वितरणलाई अति आवश्यक विषयको रुपमा सम्बोधन गरिनु पर्ने बताएका छन् ।
प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले किसानहरुको लागि मल अति आवश्यक भएको भन्दै यसलाई प्राथमिकताको विषय बनाउन सरकार र स्थानीय निकायले जिम्मेवारीपूर्वक काम गर्नु पर्ने बताए ।
उनले भने, कृषि ऐन नै छैन्, कृषि ऐनको प्रारम्भिक मस्यौदाको विषयमा छलफल चल्दै छ, हामीले अहिले भनेका कुरा मल अति आवश्यक कुरा हो, त्यसैले यो मलको आयात र वितरणलाई अति आवश्यकमा राख्नु पर्छ । यसमा स्थानीय सरकार पनि जिम्मेवार बन्नुपर्छ । तीन तहको सरकार, संघीयताको सरकारमा जाने अनि जिम्मेवारी त सबै सरकारले लिनु पर्छ ।
उनले कृषि क्षेत्रमा अनुसन्धानको कमि भएको भन्दै यस क्षेत्रको विकासको लागि नयाँ प्रविधिको विकास र अनुसन्धान आवश्यक भएको बताए ।
मल कारखाना खोल्ने विषयमा मूल्य र कच्चा प्रदार्थको अभावका कारण निष्कर्षमा पुग्न नसकिएको उनको भनाई छ ।
उनले भने, ‘मल कारखाना खोल्ने विषयमा मूल्य र कच्चा प्रदार्थको कारणले हामी निष्कर्षमा पुगेका छैन् । हामीले भारत भ्रमणमा पनि चर्चा गरेका थियौ । भारत र नेपालको संयुक्त लगानीमा खोल्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भएको छ । यो छलफल मै छ । यसको निष्कर्ष आएको छैन् ।’
मन्त्री भुषालले उत्पादन भएको विउलगायत अन्य विषय किसानहरुको बीचमा पु¥याउने काममा कमि आएको उल्लेख गर्दै हामी जनप्रतिनिधिहरुको रुपमा किसानहरुको बीचमा आवश्यक स्रोत साधन पु¥याउन सक्नु पर्ने बताए ।


















