भ्रष्टाचारलाई संरक्षण गर्न लोकतन्त्र लुटतन्त्रमा परिणत गराए : अर्जुन नरसिंह केसी

काठमाडौं,असार ७ । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले जनताले संघर्ष गरेर जनताका लागि ल्याएको लोकतन्त्र भ्रष्टाचारिको संरक्षण गर्ने लुटतन्त्रमा परिणत हुदै गएको टिप्पणी गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित रुपचन्द्र विष्टको २४ औं स्मृति दिवसमा उनले सबै राजनीतिक दलले आफ्नो स्वार्थको लागि मिलेर भ्रष्टाचारको संरक्षण गर्ने लुटतन्त्रको रुपमा लोकतन्त्रलाई दुषित भएको टिप्पणी गरे ।

‘हामीले प्रजातन्त्रको लडाईबाट जेजे उपलब्धि हाँसिल गरेका थियौं,अहिलेको हाम्रो विधि व्यवहारले लोकतन्त्रलाई लुटतन्त्रको रुपमा परिणत गर्दै छ । जहाँ गयो त्यहि भ्रष्टाचार छ । भ्रष्टाचारलाई संरक्षण गर्नको लागि देशमा सबै भएका ठूला नेताहरु एकै ठाउँमा उभिएर चोचोमोचो मिलाउने जुन खालको स्थिति छ, त्यसले जनस्तरमा देशव्यापी रुपबाट आन्तरिक रुपमा झन् बर्ता मौन असन्तोष पैदा भएको छ । त्यो नजाँदिदो ढंगले अराजकतावादी आन्दोलन सुरु हुन सक्ने स्थितिको संकेत देखिएको छ ।’ उनले भने ।

त्यस्तै राष्ट्र हितको लागि निष्पक्ष सक्रियताका साथ अगाडि बढ्नुपर्नेमा ठूला दलका नेता ठूल्लठूला भ्रष्टाचारको काण्डमा तैं चुप मै चुप भन्ने प्रवृति देखाएको प्रति उनले असन्तुष्टि पोखे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को तेस्रो संशोधन विधेयक संसदबाट पास गरेर भ्रष्टाचारीलाई उन्मुक्ति दिने कुरामा दलहरु मिलेर गरेको समर्थनबारे उनले भने, ‘संसमा पेस भएको विधेयक कस्लाई दोष दिनुहुन्छ ? यो भन्दा अगाडी ओली प्रधानमन्त्री हुँदा पेस भएको विधेयकमा हाम्रो पार्टीले पनि समर्थन गरेको छ ।

अहिले माओवादीको सरकार हुदा प्रचण्डले नै पेस गरेका छन् । कुनै पनि भ्रष्टाचारीलाई अब पाँच वर्ष भित्र कारबाही गरेन भने अब माफि भयो । भ्रष्टाचारीलाई उसको जीवनको अन्तिम समयम्म पनि कारबाही गर्नपर्छ भन्ने कुरामा किन आँट नगरेर सबैले मिलोमतो गरेर पाँच वर्षभित्रमा टुंगाउन खोजेको ?’

उनले लुटतन्त्रको परिस्थितिलाई रोक्न निष्पक्ष सक्रियताको आवश्यकता रहेकोले नागरिक स्तरबाटै प्रयास थालिनु पर्ने उल्लेख गरे ।

रुपचन्द्र विष्टले राज्यमा भएका कुरासबै नागरिकले थाहा पाउनुपर्ने , सत्य प्राप्तिको आन्दोलनमा सबै नागरिक एकीकृत हुनुपर्ने तथा समाज पवरिवर्तनमा त्यसैले भूमिका खेल्ने धारणा राखेर सुरु गरेको थाहा आन्दोलनलाई सबैले नजिकबाट नियाल्न आवश्यक भएको समेत बताएका छन् ।