काठमाडौं, असार १२ । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचनमा सरकारको कुनै हस्तक्षेप नहुने प्रष्ट पारेका छन् ।
मंगलबार जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी प्रस्तावको विरोधमा एमाले र रास्वपाले बैठक अवरोध गरेपछि प्रतिनिधि सभाको बैठकमा उनले सरकार निर्वाचन आयोगको स्वतन्त्रताको पक्षमा दृढ रहेको बताए ।
‘निर्वाचन आयोगको जिल्ला जिल्लामा जुन कार्यलयहरु छन् त्यसको स्वतन्त्र अस्तित्व नै नरहने भयो भन्ने लागेछ । हामी लोकतन्त्रको लागि जेल नेल प्रवासन भोगेका हौ । आवधीक निर्वाचन पद्धती लोकतन्त्रको अभिन्न अंग हो । त्योे विना लोकतन्त्र नाम मात्रको रहन्छ । र यो निर्वाचन निष्पक्ष स्वतन्त्र हुनुपर्छ । सरकारको कुनै पनि हस्तक्ष्नेप र बाधा सरकारले गर्नु हुँदैन ।’
उनले भने ‘सरकारले निर्वाचन स्वतन्त्र निष्पक्ष भयरहित आम मतदाताले स्वतन्त्र भयर त्यो अधिकार प्रयोग गर्नु पर्छ भन्ने मान्यता हो । यो सबैको मान्यता हो । सबै भन्दा बढि निर्वाचन आयोगको स्वतन्त्र अस्थित्वको पक्षपाती हामी छौं । यसमा कही कतै पनि शंका उब्जीन नदिन सरकारको सम्पुर्ण कोसिश रहन्छ । ’


















