काठमाडौं, असार १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले विभिन्न अस्पतालका २ हजार २८ वटा बेडबाट निशूल्क स्वास्थ्य सेवा उपलब्ध हुने जानकारी दिएका छन् ।
मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले आफूले अनुगमनका क्रममा देशका विभिन्न अस्पतालबाट २ हजार भन्दाबढी बेड निशुल्क प्राप्त गर्ने अवस्था निर्माण गरिएको बताए ।
उनले भने, ‘वीर हस्पिटलमा ७ सय वटा बेड, विराटनगरको कोशी अस्पतालमा ३ सय ३० निशुल्क बेड, कान्ति बाल अस्पताल २ सय ४८ वटा, शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालमा ६० वटा, परोपकार अस्पतालमा ४ सय ५०, राष्ट्रिय ट्रमा सेन्टरमा १ सय ५०, सहिद गंगालालमा ९० वटा गरेर २ हजार २८ वटा बेड निशुल्क भएको घोषणा गरेका छौ ।’
उनले नेपालको संविधानले सबै नागरिकहरुको स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मेवारी राज्यको भएपनि व्यवहारमा पूर्ण रुपमा लागू नभएको उल्लेख गर्दै अहिले त्यो अवस्थाबाट नेपाली जनता बाहिर आएको बताए ।
गरिब, असहाय, विपन्न व्यक्तिहरुको लागि १० प्रतिशत उपचारसहितको बेड छुट्याउनु पर्ने कानूनी व्यवस्था गरेको बताएका छन् ।
उपचारबाट वञ्चित विपन्न परिवारका लागि २२ जिल्लामा छुट कार्ड र अन्य जिल्लामा वडा कार्यालय, स्थानिय सरकारको सिफारिसमा निशूल्क सेवा उपलब्ध गराउने व्यवस्था लागू गरिएको उनले जानकारी दिए ।
‘सबै अस्पताल र मेडिकल कलेजहरुले स्थापना गर्ने समयमा १० प्रतिशत उपचारसहितको बेड गरिव, असाहाय, विपन्न व्यक्तिहरुलाई छुट्याउनु पर्ने हाम्रो कानूनी व्यवस्था पनि छ । यो पनि लागू भएको छ ।’ उनले भने, ‘उपचारको मापदण्डमा २२ जिल्लाका असाहाय, विपन्नहरुलाई कार्ड बनाई दिने र त्यो भन्दा बाहेक वडा कार्यालय, स्थानीय सरकार, जसले असहाय, विपन्नलाई चिन्छ उनिहरुको सिफारिसमा निशूल्क सेवा उपलब्ध गराउने भनेर लागू गराएका छौ । यसबाट नेपालीहरुले सेवा पाएको छ । ’
यस्तै, उनले अस्पतालमा निशूल्क सेवाको व्यवस्थाको लागि अस्पताल र मन्त्रालय मिलेर काम गर्ने बताए ।


















