बकर इदले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने : राष्ट्रपति पौडेल

काठमाडौं, असार १४ । राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेका छन् ।

बकर इदको अवसरमा राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिभएको छ ‘मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिन्छ । इस्लाम धर्मावलम्बीहरूले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेछ । साथै, सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु । ’

यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वद्र्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्‍भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने विश्वास पनि राष्ट्रपति पौडेलको छ । उनले विविधताबीचको एकताले नै राष्ट्रियता र राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउन योगदान गर्नेछ भन्ने विश्वास पनि व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ‘अन्तमा, इद–उल–अज्हा (बकर इद) पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्‍भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गर्दछु ।’