काठमाडौं, असार १५ । सभामुख देबराज घिमिरेले सभामुख भएपछि पार्टीबाट अलग बस्नुपर्छ भन्ने जनताको धारणासँग सहमति नजनाउने प्रष्ट पारेका छन् ।
शुक्रवार संसदीय अध्ययन तथा विकास संस्थापनाले संसद दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले आफु नेकपा एमालेको बफादार नेता भएकाले पार्टीबाट अलग बस्नुपर्छ भन्ने जनताको धारणासँग सहमति नहुने बताए ।
उनले भने,‘ नेकपा एमालेको बफादार नेता हुँ । पार्टी प्रणालीमा हामी गएका छौं । सिद्धान्त नीतिको आधारमा जनतालाई यो गर्छु, सामाजिक सुरक्षामा, शिक्षामा त्यो गर्छु भनेर आएको हुँ । म चटक्कै कसरी पार्टीबाट अलग हुन सक्छु । चटक्कै पार्टीबाट अलग हुनुपर्छ भन्ने धारणा तर्क छ भने तपाईहरुको त्यो कुरासँग सहमत हुन सक्दिन । ’
जनताको प्रतिनिधि संसदमा भएका अभिव्यक्ति,निर्णय सहमत विमत सबै जनताको प्रतिनिधित्व भएकाले ईमान्दारितापूर्वक काम गर्नुपर्ने पनि सभामुख घिमिरेको भनाइ थियो ।

















