काठमाडौं, असार १८ । राष्ट्रियसभा बैठक आज दिउँसो १ बजे बस्नेछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो बस्ने बैठकमा विनियोजन विधेयकमाथि विभिन्न पाँच मन्त्रालयका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
संघीय संसद सचिवालयको अनुसार बैठकमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय,महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,सहरी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई छुटाइएको बजेट माथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
साथै, बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा सदनलाई जानकारी गराउने संसद सचिवालयको जानकारी छ ।


















