अन्तरजातीय विवाहको कारण घरमा गरिएको आगजनीको घटना प्रति संयुक्त संघर्ष समितिले गर्यो घोर भत्सर्ना

काठमाडौं, असार २२ । विभिन्न राजनीतिक दल निकट रहेको दलित संगठनहरुले अन्तरजातीय विवाहको कारण मुकुन्द नेपालीको घरमा गरिएको आगजनीको घोर भत्सर्ना गर्दै जातीय भेदभाव र छुवाछूतका घट्नाहरूको छानवीन गरी दोषीलाई कारबाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।
जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नंबर ४ गिडीखोलामा गत असार १७ गतेका दिन मुकुन्द नेपालीको घरमा केटीका दाजु हिम्मत गिरीलगायतले आगजनी गरेका थिए । आगजनीबाट मुकुन्द नेपालीको घर पूर्ण रुपमा क्षतिग्रस्त भई अन्दाजी ६५ लाख बढीको धनसम्पतिको क्षति भएको जनाइएको छ ।
मुकुन्द नेपाली र स्थानीय गैरदलित वसन्ती गिरीबीचको प्रेम विवाह गरेको विषयलाई लिएर घरमा गरिएको आगजनीको घोर भत्सर्ना गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले एक विज्ञप्ति जारी गरि घटनाको भत्सना गरेको हो । ‘यो घटना एकजना दलित युवा र परिवारमाथि गरिएको अपराध मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उन्नत चेतना, मूल्यमान्यता र मानवता विरूद्धकै गम्भीर अपराध हो ।’, विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिको पुर्ण पाठ
संयुक्त प्रेस विज्ञप्ति
जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नंबर ४ गिडीखोलाका मुकुन्द नेपाली र स्थानीय गैरदलित वसन्ती गिरीबीचको प्रेम सम्बन्धलाई लिएर यही २०८० असार १७ गतेका दिन मुकुन्द नेपालीको घरमा केटीका दाजु हिम्मत गिरीलगायतले आगजनी गरेका छन् । उक्त आगजनीबाट मुकुन्द नेपालीको घर पूर्ण रुपमा क्षतिग्रस्त भई अन्दाजी ६५ लाख बढीको धनसम्पतिको क्षति भएको छ । यो घटना एकजना दलित युवा र परिवारमाथि गरिएको अपराध मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उन्नत चेतना, मूल्यमान्यता र मानवता विरूद्धकै गम्भीर अपराध हो । हाल घरमा आगजनी गर्ने हिम्मत गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको भनिए पनि विभिन्न बहानामा घट्नालाई अर्कैतर्फ मोडेर ढाकछोप र सामसुम पार्ने प्रयास गर्न खोजिदैछ । त्यसैले सर्वप्रथम मुकुन्द नेपाली र बसन्ती गिरीको सुरक्षा गर्न र आगजनीबाट भएको घर र धनमालको क्षतिपूर्ति दिन, पीडितलाई न्याय प्रदान गर्न र गिडीखोला बस्तीका २८ घरधुरी दलितको पूर्ण सुरक्षा प्रदान गर्न गर्न जोडदार माग गर्दछौं । त्यसैगरी गोरखा आरुघाट गाउँपालिकाका सन्तोष नेपाली र धादिङ निलकण्ठ नगरपालिकाकी बविता श्रेष्ठबीचको अन्तरजातीय विवाह भएको २ महिनापछि जातीय कारणले जबरजस्तीकरणीको झुठ्ठा मुद्दामा फसाइएको छ ।
यस बाहेक बैतडी, कास्की, सिराह, दाङलगायत देशका विभिन्न भागमा एकपछि अर्को श्रृङ्खलाबद्ध रुपमा दलितहरुमाथि जातीय भेदभावका घट्ना घटाइनु र झुठ्ठा मुद्दामा फसाउने कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता अत्याचारपूर्ण घट्नाको हामी घोर भत्सर्ना गर्दै झुठ्ठा मुद्दा तत्काल खारेज गर्न र जातीय भेदभाव र छुवाछूतका घट्नाहरूको छानवीन गरी दोषीलाई कारावाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।
हस्ताक्षरकर्ता घटक संगठनहरु
१.श्री शम्भुहजारा पासवान – संयोजक,नेपाल दलित संघ
२.श्री टेक घतानी – सचीव , नेपाल उत्पीडित जातीय मुक्ति समाज
३. श्री दलजीत श्रीपाली -अध्यक्ष , नेपाल दलित मुक्ति मोर्चा
४. श्री गणेश विश्वकर्मा – अध्यक्ष , नेपाल दलित मुक्ति संगठन
५. श्री भक्त विश्वकर्मा – महासचिव , जातीय समता समाज
६. रामलाल सि – अध्यक्ष , श्रमिक समुदाय मोर्चा
७.शान्ति गजमेर – अध्यक्ष , जातव्यवस्था उन्मुलन मोर्चा , नेपाल
८. गजाधर सुनार – इन्चार्ज , नेपाल समाजवादी दलित मुक्ति संगठन
९. शोभा सेन्चुरी – प्रतिनिधि , नेपाल दलित मुक्ति मोर्चा