ललितपुर, असार ३० । ललतिपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि जापानी राजदूत किकुता युताकाले संयुक्त रुपमा बागमती नदी कोरिडोरमा साकुराको विरुवाको वृक्षरोपण गरेका छन् ।
शनिबार बिहान जापानी विश्वविद्यालय पूर्व छात्रा संघ नेपालले साकुरा वृक्षरोपणको स्वर्ण जयन्तीको अवसर पारेर ललितपुर महानगरपालिकासँंगको सहकार्यमा बागमती पुल मूनीको करिडोर क्षेत्रमा साकुरा फूलको विरुवाकोे वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो ।
उनले महानगरलाई सुन्दर र हरियाली बनाउने कार्यमा वृक्षारोपण र विरुवा संरक्षण गर्न ललितपुर मानपाको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै आज रोपिएको ५० थान साकुरालाई प्रकृतिले साथ दिए सबै विरुवा हुर्काएर चार वर्षमै फूल्ने गरि संभार गर्ने भन्दै युताकालाई साकुराको एउटा पनि विरुवा मर्न नदिने प्रतिवद्धता जाहेर गरे ।
उनले भने, ‘म तपाईहरु सबैलाई विश्वास दिलाउन चाहन्छु कि हामी जुन पनि बिरुवा रोप्छौं त्यो राम्रो हुन्छ, बाँच्छ । आज रोपेको यो साकुराको पनि एउटा बिरुवा मर्न नदिई हुर्काउने प्रतिवद्धता जाहेर गर्दछु । मेरो दश वर्षे कार्यकालमा बाँकी रहेको समयमा आगामी चार वर्षभित्र प्रकृतिले साथ दिए साकुरालाई फूलाउने विश्वास दिलाउन चाहन्छु ।’
उनले एक संघीय मन्त्रीले बोलेको कथन याद गर्दै भने, ‘एकजना मन्त्रीले भन्नुहुन्थ्यो कि यदि संघीय सरकारले १०० वटा विरुवा रोप्यो भने त्यसमा ९० विरुवा मर्छन् । त्यहि विरुवा ललितपुर महानगरले रोप्यो भने सयमा ९० बाँच्छन् । आजको विषयमा हामी सबै मिलेर ५० वटै साकुरालाई हुर्काउने प्रतिवद्धता व्यक्त गर्छु ।’
उनले ललितपुरलाई हरियाली शहरमा विकास गर्न आफ्नो बेस्ट लेभलको प्रयास गरिरहेको भन्दै हरियाली र बस्न योग्य शहर बनाउने बताए । त्यस्तै, अन्य संस्था तथा इच्छुक व्यक्तिहरुलाई उनले ललितपुरका लागि विरुवा उपलब्ध गराउन अपिल पनि गरे ।
कार्यक्रममा सहभागी नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल र जापानका बीचमा विविध पक्षमा राम्रो सम्बन्ध रहेको भन्दै साकुराको वृक्षरोपणले ललितपुरको सुन्दरतालाई निर्खान अझ सहयोग पुग्ने बताए ।
त्यस्तै उनले साकुराको संरक्षण हुने विश्वास व्यक्त गर्दै आगामी समयमा साकुराको सुन्दरतामा नागरिक रमाउने अपेक्षा राखे । बहुवर्षे बिरुवाको रुपमा रहेको साकुरा प्रजातिको फूल काठमाडौं उपत्यका लगायतका विभिन्न शहरको पेटीमा रोपिएको छ । साकुराले नेपाली सडकको सुन्दरतालाई बढाएको त छनै त्यसको सुन्दरतामा मोहित भएर रमाउनेको संख्या पनि पछिल्लो समय बढेको पाइन्छ ।


















