म घर जलाएर खरानीको व्यापार गर्ने पक्षमा छैन् : कानून मन्त्री गुरुङ

काठमाडौं, साउन ९ । कानून मन्त्रीसमेत रहेका कांग्रेस उपसभापति धनराज गुरुङले कांग्रेसलाई जलाएर खरानीको टिका लगाउने काममा आफू संलग्न हुन नसक्ने तर्क गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ४१औं बीपी स्मृती सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा पार्टीका केही नेताले आफ्नो नामै लिएर टिप्पणी गरेपछि उनले सार्वजनिक रुपमा पार्टी हित विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।

उनले भने ‘कांग्रसको घर जालएर खरानीको टिका लगाएर त्यही खरानीको व्यापार गर्ने यात्रामा धनराज गुरुङ कहिले पनि हुँदैन् । कांग्रेसलाई होचो बनाउने पाटीलाई तल पार्ने गरेर सार्वजनीक रुपमा कसैले पनि भाषण दिने मन्तव्य दिने कुराहरु संग म सहमत छैन् ।’

भित्र लडौला, छलफल गरौला तर मन्तव्य अभिव्यक्ति दिनेबेला कांग्रेसलाई केन्द्रबिन्दुमा राख्नुपर्ने उनको तर्क छ ।