पूर्व प्रधानमन्त्री नेपाल चीन जाँदै

काठमाडौं,कार्तिक,२१ । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल आज औपचारिक भ्रमणमा चीन जाने भएका छन् । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्षका हैसियतमा चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा उनी पार्टीका केही नेतासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जान लागेका हुन् ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालका अनुसार अध्यक्ष नेपालको पाँच सदस्यीय प्रतिनिधिमण्डल पहिलो चोटी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जान लागेको हो । त्यहाँ नेपाल नेतृत्वको टोलीले चीनको समाजवाद यात्रा र विकासलाई अध्ययन गर्ने खनालले जनाकारी दिए ।

उनले भने,‘यो औपचारिक भ्रमण हो । त्यहाँ चीन कसरी समाजवाद बनाउँदै रहेछ, त्यसको अनुभव लिने कुरा हो । हाम्रो टोलीले समाजवादबारे केही न केही सिक्छ, अनुभव लिएर फर्किन्छ । भोली हामीले बनाउने समाजवाद कसरी बनाउने भन्ने बारेमा अलिकति जानकारी लिने र घोत्लिने अवस्था सिर्जना हुन्छ ।’

कृषि मन्त्री बेदुराम भुषाल सहित पाँच सदस्यीय नेपालको प्रतिनिधि मण्डल पाँच दिनपछि स्वदेश फर्किने छन् ।