महोत्तरी, असोज २०। चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान मख्ख भएका छन् । राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि उनीहरू मक्ख भएका हुन् ।
आर्थिक वर्ष २०८०–८१ मा गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन् ।
उक्त उद्योगलाई गत वर्ष उखु बेचेका १४ हजार ४४४ किसानका खातामा उनीहरुले बुझाएका उखुको परिमाणअनुसार प्रतिक्विण्टल रु ७० का दरले अनुदान रकम दाखिला भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएकाे छ । किसानलाई २० करोड ३३ लाख १५ हजार ८११ रूपैयाँ अनुदान दिइएको छ ।
कार्यालय प्रमुख बालकृष्ण अधिकारीका अनुसार अनुदान रकम बैंक खाता भएका सबै किसानले पाएका र नहुनेले पनि धमाधम खोता खोल्न थालेका छन् । “रकम दाखिलाको क्रम जारी छ,” उनले भने ।


















