सिन्धुली, असोज २२ । काठमाडौंबाट भोजपुरका लागि हिँडेको बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको रोयल भोजपुरको बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परेर ज्यान गुमाउने हतुवागढी गाउँपालिका–१ भोजपुरका २६ वर्षीय मृतक बुद्धिमान तामाङको पहिचान खुलेकाे छ भने अर्का मृतकको पहिचान भने खुल्न सकेको छैन । मृतक दुवैको शव सिन्धुलीमाडीस्थित सिन्धुली अस्पतालमा राखिएको छ । गाडी दुर्घटनामा परेका २३ घाइतेलाई सिन्धुली अस्पतालमा ल्याइएको थियो ।
घाइतेमध्ये गम्भीर घाइते भएका १० जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते १० जना उपचारपछि घर फर्किएका छन् । तीन यात्रु सिन्धुली अस्पतालमा उपचाररत छन् । अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटलगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
गाडीमा सवार धेरैजसो यात्रु खोटाङका भएको बताइएको छ । बस काठमाडौँबाट ३९ यात्रु बोकेर भोजपुरतर्फ जान लागेको थियो ।


















