रवि पक्राउ पर्दा तोसिमासहितका नेताहरु मन्द मुस्कानमा !

काठमाडौं, कार्तिक ४ गते । सहकारी ठगीसहितका आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट शुक्रबार राति पक्राउ परेका पूर्व गृहमन्त्री एवम् सांसदसमेत रहेका रवि दुई दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका हुन् ।

उनलाई आज थप अनुसन्धान गर्नका लागि म्याद थपका लागि अदालत पेश गरिँदैछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले लामिछानेलाई शुक्रबार राति पक्राउ गरी जहाजमार्फत पोखरा लिने तयारी गरेको थियो ।

तर रवि जहाजमार्फत पोखरा जान तयार भएनन् । उनले स्थलमार्ग हुँदै पोखरा लैजान प्रहरीलाई प्रस्ताव गरेका थिए । सोही अनुसार उनलाई प्रहरीले कडा सुरक्षाकाबीच शुक्रबार राति नै पोखरा लगेको थियो ।

उनले स्थलमार्गबाट पोखरा जानुलाई भिडभाड गराउने उद्धेश्य राखेको आरोप लागेको छ । उनीसँगै रास्वपाका नेताकार्यकर्ता समेत पोखरा पुगेका थिए । अन्य नेताहरु रविसँगै पोखरा पुगे पनि रास्वपाका उपसभापति समेत रहेका सांसद स्वर्णिम वाग्ले, तोसिमा कार्की र विराजभक्त श्रेष्ठलगायतका नेता भोलिपल्ट जहाजमार्फत पोखरा गएका थिए ।

सहकारी ठगी र संगठित अपराधको आरोपमा थप अनुसन्धान गर्न लागिएका रविका समर्थकले शनिबार दिनभर पोखरामा प्रदर्शन गरेका थिए । सोही क्रममा रास्वपाका नेताहरुले सरकारको आलोचना गर्दै रविको पक्षमा चर्को भाषण गरेका थिए ।

तर शनिबार दिउँसो चिप्लेढुंगामा आयोजित विरोध सभामा सहप्रवक्ता मनिष झाले सम्बोधन गर्दै आफूहरु शहीद बन्न तयार रहेको बताएका थिए । झाले भ्रष्टाचार अन्त्य र सुशासनका लागि सभापतिसँगै आफूहरु पनि मर्न तयार रहेको दाबी गरेको बेला सांसद तोसिमा कार्की र बिनिता कठायत सेल्फी खिच्दै मुस्कुराइरहेका थिए ।

उनीहरुले रविको समर्थनमा उर्लिएको भीडमा मुस्कुराएर सेल्फी खिचेको तस्विर सार्वजनिक भएपछि सर्वत्र विरोध भइरहेको छ । रास्वपा नेतृ तोसिमा सेल्फी खिच्नकै लागि विमान चढेर पोखरा पुगेको पनि आरोप लागेको छ ।

कतिपयले तोसिमाको सो मुस्कानमा रहस्य लुकेको पनि हुनसक्ने आरोप लगाएका छन् । केही नेताहरुले रास्वपा फुटाउने तयारी गरेको पनि बेलाबेला चर्चा हुने गरेको थियो ।

केही समयअघि तोसिमाले सभापति रविको आलोचना गरेकी थिइन् । सूर्यदर्शनसहितका सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्धनिर्देशक रहेका लामिछानेलाई पक्राउ गरिएको हो ।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत अपचलनमा रवि लामिछानेको संलग्नता रहेको भन्दै अनुसन्धानका लागि सरकारलाई सिफारिस गरेको थियो।