कर्णालीविरुद्ध जनकपुर विजयी, फाइनलमा सुदूरपश्चिमसँग भिड्ने

काठमाडौं । कर्णाली याक्सलाई दोस्रो पटक पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । यसअघि लिग चरणको खेलमा पनि जनकपुरले कर्णालीलाई पराजित गरेको थियो ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा पूरा गर्दै सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको हो ।

यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ ।

जनकपुरका जिमि निशमले सर्वाधिक ४५ रन जोडे । २ चौका र ५ छक्का प्रहार गरेका निसम विपिन शर्माको बलमा बोल्ड आउट भए । हर्ष थाकेर १७ रन बनाउँदा रनआउट भए । १९औं ओभरमा १४ रन लिदै जनकपुरले फाइनल यात्रा तय गर्‍यो । शेर मल्लले १० बलमा अविजित १६ रन बनाए ।

आकाश त्रिपाठी १३ रन थप्दै पेभेलियन फर्के । मयन यादव १४ रनमा रन आउट भए । शेर मल्ल १६ किशोर महतो शुन्य रनमा अविजित रहे ।

बलिङमा कर्णालीका बिपिन खत्रीले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी, विलियन बसिस्टो र जिसन मक्सुदले समान एकएक विकेट लिए ।

जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनाएको हो ।

कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन जोडे । देव खनालले २४, जिशन मक्सुद १२, चाडविक वाल्टन ११ र विलियम वोसिष्टोले १४ रन बनाए ।

बलिङमा ललित राजवंशी, जिमि निशम र मोहम्मद मोहसिनले दुईदुई, हर्ष थाकर र शेर मल्लले एकएक विकेट लिए ।