राजाहरुले देश कंगाल बनाएः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुले मुलुकलाई कंगाल बनाएको आरोप लगाएका छन् ।

शनिवार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरुले हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको बताए ।

देश कंगाल बनाउने काम राजाहरु गरेको उनको आरोप छ । अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको उनको दावी छ । देशलाई विकसित, बस्न लायकको बनाउनै पर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अचम्म त के भने यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरु फेरि हामी नभइ भएन, हामी आउँछौँ, साथ देउ, भनेर लाजै मान्दैन । यो देश कंगाल बनाउने त यिनीहरु हुन् त । अहिले यत्रो विकास यो ३० वर्षमा गरेको छ । तथ्यांक, आँकडाले बताउँछ । मान्छे नहुँदा जंगलमा मुलुक थियो होला । त्यसपछि के भयो ? हामी देश बनाउनै पर्छ, देशलाई विकसित बनाउनै पर्छ । देशलाई बस्न लायकको बनाउनुपर्छ, वातावरणीय हिसावले हेर्नुस्, हिमाल, पहाड छन्,यस्तो स्वच्छ, पवित्र छ । यो त देवभूमि हो । यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ । यस्तो देशमा फोक्साको व्यापारी रु कहाँबाट आयो यो फोक्साको व्यापारी नेपालमा ।’