महत्त्वपूर्ण निर्णयहरु गर्दै संयुक्त नागरिक पार्टीकाे सचिवालय बैठक सम्पन्न

महत्त्वपूर्ण निर्णयहरु गर्दै संयुक्त नागरिक पार्टीकाे सचिवालय बैठक सम्पन्न

काठमाडौं, १६ जेठ — संयुक्त नागरिक पार्टीले नेतृत्व चयन, विभागीय जिम्मेवारी, विशेष समिति गठन र आन्दोलनका कार्यक्रम सञ्चालन लगायतका महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।

जेठ १४ देखि १६ गतेसम्म अध्यक्ष दल मर्दन कामीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बिजुलीबजारमा सम्पन्न सचिवालय समितिको बैठकले पार्टी संरचनालाई सुदृढ बनाउने उद्देश्यले विभिन्न विभाग प्रमुख तथा उपप्रमुख तथा सातै प्रदेशमा इन्चार्ज र सहइन्चार्जहरू समेत तोकेकाे छ ।
बैठकले पार्टी संगठन, अनुशासन, महिला, युवा, सूचना, विदेश, कृषि, दलित/शिल्पी, प्रशिक्षण, खेलकुद, तथा मुद्दा परिचालन लगायत १३ विभागमा जिम्मेवारी बाँडफाँड गरेको छ ।
विशेष परिस्थिति र नीतिगत निर्णयका लागि अध्यक्ष कामीसहित ११ सदस्यीय ‘कोर कमिटी’ (Core Committee) गठन गरिएको छ भने पार्टी प्रवक्ताको जिम्मेवारी उपमहासचिव विदुर अधिकारीलाई दिइएको छ।

पार्टीले आम नागरिकका अधिकार, न्याय, समानता, राष्ट्रियता र सार्वभौमिकताको पक्षमा विविध आन्दोलनात्मक कार्यक्रम—जस्तै कोणसभा, खबरदारी, विरोध प्रदर्शन र सचेतना अभियान सञ्चालन गर्ने बताएको छ।
साथै, पार्टी सदस्यता अभियानलाई युद्धस्तरमा अघि बढाइ एक वर्षभित्र ३ लाख सदस्य बनाउने लक्ष्य लिएको अनि आर्थिक तथा कार्यालय व्यवस्थापनका लागि छुट्टै समिति पनि गठन गरिएको छ।
अध्यक्ष दलमर्दन कामी र महासचिव प्रेमबहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार पारित सबै निर्णयहरू तत्काल कार्यान्वयनमा लैजान निर्देशन समेत दिईएकाे छ ।