दिपक भट्टसँग जोडिएको खुलासापछि गृहमन्त्री गुरुङको चौतर्फी आलाेचना

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित सांसद तथा सरकारका गृहमन्त्री सुधन गुरूङ विचौलिया दिपक भट्टसँग जोडिएको खुलासापछि चौतर्फी बिरोध सुरु भएको छ ।  गुरुङलाई कारबाही गर्ने सम्बन्धमा रास्वपा भित्र छलफल सुरु भएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएको तथ्य सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ आइतबार राति रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पुगेका थिए । अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनले राजीनामा दिनुपर्ने माग सत्तारूढ रास्वपामा उठ्न थालेको छ । राजीनामाको दबाब बढेपछि मन्त्री गुरुङ बूूढानीलकण्ठस्थित लामिछाने निवासमा पुगेका हुन् । बेलुकी ८ बजेपछि पुगेका उनी राति १० बजेको हाराहारीमा निस्किएको सुरक्षास्रोतले जनाएको छ ।

महामन्त्री  बुर्लाकोटीले भने गुरुङको सेयर लगानी गैरकानुनी रूपमा गरिएको हो वा होइन भन्ने विषयमा सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेर अगाडि बढ्ने प्रतिक्रिया दिए ।  यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहले पदीय दुरुपयोग गरी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा सक्रिय बनाएको आरोपमा अनुशासन समितिले कारबाही सिफारिस गरेको थियो । त्यही आधारमा प्रधानमन्त्री बालेन शाहले साहलाई पदमुक्त गरेका थिए ।

गुरुङ सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र व्यापारिक घराना शंकर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको खुलेसँगै उनीको चौतर्फी आलोचना भइरहेको छ ।  स्रोतका अनुसार गुरुङमाथि लागेको आरोपबारे आन्तरिक छानबिन गर्ने सम्बन्धमा पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालबिच सोमबार बिहान कुराकानी भएको हो । गम्भीर विषय भएकाले यस सम्बन्धमा सोमबार दिउँसो ३ बजे बस्ने केन्द्रीय समिति बैठकमा थप छलफल भएर आवश्यक निर्णय लिने तयारी भएको स्रोतको भनाइ छ ।