काठमाडौं। नेपाली महिला क्रिकेट टोली फेरि पराजित भएको छ। आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफी अन्तर्गत आज सम्पन्न खेलमा नेपाल अमेरिकासँग पराजित भएको हो।
आज सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनाएको थियो। नेपालका लागि रुबि पोद्दारले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५१ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन नै बनाउन सकेनन्। अमेरिकाका माही माधवन र रितु सिंहले समान २ विकेट लिँदा अदितीबा चुडसामाले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले ३ विकेट गुमाएर ११.५ ओभरमा लक्ष्य भेट्टायो। अमेरिकाका लागि इशानी भागेलाले सर्वाधिक अविजित ३५ रन बनाउँदा सैनवी कम्बलापल्लीले २१ तथा पूजा गनेसले २० रन बनाए। बलिङमा मनिषा उपाध्याय, पूजा महतो र इन्दु वर्माले समान १ विकेट लिए पनि अमेरिकालाई रोक्न सकेनन्।
नेपाल, अमेरिका, रुवान्डा, भानुआटू र इटली सम्मिलित यो लिगमा नेपालले पाँचौँ खेल खेल्दा यो तेस्रो हार ब्यहोरेको हो। यसअघि नेपालले अमेरिका र भानुआटूसँग हार ब्यहोर्दा इटली र रुवान्डालाई हराएको थियो।
नेपालले अब अर्को खेल घरेलु टोली रुवान्डाविरुद्ध खेल्नेछ।


















