धुन माटो अभियानको भव्य शुभारम्भ, नेपाली मौलिक कला–संस्कृति संरक्षणमा नयाँ अभियान

केपि कुमार जलन

काठमाडौं, असार १३ — नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको ‘धुन माटो’ अभियानको उद्घाटन कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको शुभारम्भ वरिष्ठ गायक प्रेमराजा महत, वरिष्ठ गायिका बीमा कुमारी दुरा तथा आदरणीय आमा पवित्रा रसाइलीबाट संयुक्त रूपमा दीप प्रज्वलन गरी गरिएको थियो।

कार्यक्रममा नेपाली संगीत तथा सांस्कृतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा वरिष्ठ गायक प्रेमराजा महत, बीमा कुमारी दुरा, बमबहादुर कार्की, वरिष्ठ गायिका फूलमाया के.सी., वरिष्ठ संगीतकार उदय श्रेष्ठ तथा आमा पवित्रा रसाइलीलाई नेपाली कला–संस्कृतिमा पुर्‍याएको योगदानको कदरस्वरूप ‘स्रष्टा सम्मान’ प्रदान गरिएको थियो।

वरिष्ठ गायक रामप्रसाद खनाल तथा वरिष्ठ पत्रकार एवं प्राइम टिभीका सञ्चालक ऋषि धमला विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको कार्यक्रममा चर्चित दोहोरी कलाकार सुमन थापा मगर, श्याम राना, प्रसन्न पाठक लगायत विभिन्न कलाकार, सामाजिक अभियन्ता तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मिलीजुली बाजा समूहको नौमती बाजाको मंगलधुनबाट उद्घाटन गरिएको कार्यक्रममा नेपालका विभिन्न भूभागबाट आएका कलाकारहरूले काठे भाका, पूर्वेली भाका, लोकदोहोरी तथा विविध मौलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए। साथै, नयाँ तथा उदीयमान प्रतिभाहरूलाई पनि आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन कमला घिमिरे र दुर्गा बिरहीले गर्नुभएको थियो। कार्यक्रम प्राइम टिभीमार्फत प्रसारण गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार ‘धुन माटो’ केवल सांगीतिक कार्यक्रम मात्र नभई नेपालको भाषा, संस्कृति, जातीय विविधता र मौलिक पहिचानलाई एउटै सूत्रमा बाँधेर विश्वसामु चिनाउने दीर्घकालीन सांस्कृतिक अभियान हो। अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ र समर्थन गर्ने कलाकार, शुभेच्छुक, दर्शक, सहयोगी संस्था तथा सञ्चारकर्मीप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।

आगामी दिनमा पनि नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि ‘धुन माटो’ अभियान निरन्तर अघि बढ्ने प्रतिबद्धता आयोजकले जनाएको छ।