काठमाडौं। सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्वारा आयोजित ‘संगीत र प्रविधि’ विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा वरिष्ठ प्रविधि विज्ञ राजेन्द्र अर्याल ले संगीत, अडियो तथा भिडियो निर्माणसँग सम्बन्धित प्रविधिको प्रयोग, यसको उपयोगिता र बदलिँदो प्रविधिसँग कसरी अद्यावधिक रहने भन्ने विषयमा जानकारीमूलक प्रस्तुति दिएका थिए। कार्यक्रममा सहभागी स्रष्टा, सर्जक, कलाकार तथा अडियो–भिडियो क्षेत्रमा आबद्ध व्यक्तित्वहरूले प्रविधिसम्बन्धी नयाँ ज्ञान र अनुभव हासिल गर्ने अवसर पाएका थिए।
परिषद्का अनुसार कार्यक्रममा सिक्ने र आफूलाई थप सक्षम बनाउने उद्देश्यले उत्साहपूर्वक सहभागी हुनेहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसपटकको कार्यक्रमको विशेषता भनेको परम्परागत शैलीभन्दा फरक ढंगले सञ्चालन हुनु थियो। कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, लामो भाषण वा खादामाला जस्ता औपचारिकता नराखी, सहभागीहरूले हातमा कलम र कापी लिएर विज्ञको प्रस्तुति सुन्ने तथा आवश्यक कुरा टिपोट गर्ने वातावरण सिर्जना गरिएको थियो।
परिषद्ले यस्ता कार्यक्रमले समय र खर्च दुवैको बचत गर्दै ज्ञान आदानप्रदानलाई प्राथमिकता दिने विश्वास व्यक्त गरेको छ। साथै, भाषणबाजी र खादामाला संस्कृतिलाई निरुत्साहित गर्दै सादगी, मितव्ययिता र प्रभावकारी कार्यक्रम सञ्चालनको अभ्यासलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।


















