आधा सिलिन्डर ग्यास बजारमा पठाउँदा निगम, उपभोक्ता, डिलर र उद्योगी सबैले मार परेको बताउँदै आएका थिए।
उपभोक्ताले आज (बुधबार) देखि खाना पकाउने भरी सिलिन्डर ग्यास किन्न पाउने भएका छन् । नेपाल आयल निगम लिमिटेडले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारदेखि साबिककै १४.२ केजी ग्यास भरेर बजारमा पठाउने जनाएको हो ।
इरान–अमेरिका/इजरायल युद्ध चर्किंदै जाँदा विश्वभर पेट्रोलियम पदार्थको संकट उत्पन्न भएपछि सरकारले २९ फागुनदेखि आधा सिलिन्डर ग्यास (७.१ केजी) बिक्री गर्ने निर्णय गरेको थियो । युद्धको अनिश्चितताका कारण उपभोक्ताहरूले अस्वाभाविक रूपमा ग्यास भण्डारण गर्न थालेपछि निगमले सबैलाई ग्यास पुर्याउने उद्देश्यले आधा सिलिन्डर ग्यास बिक्री वितरणको नीति लिएको थियो । निगमको यो नीतिले उपभोक्ताको माग सम्बोधन गर्न त्यसबेला काम गरे पनि अहिले भारतबाट नियमित ग्यास आउन थाल्दासमेत आधा सिलिन्डर नीति यथावत् रहनु गलत भन्दै भरी सिलिन्डर ग्यासको माग गरिरहेका थिए ।
केही समयका लागि ७.१ केजीको सिलिन्डर पूर्णरूपमा प्रतिस्थापन नहुँदासम्म बजारमा दुवै तौलका सिलिन्डर बिक्री वितरण हुन सक्ने भएकाले सोहीअनुसार तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ ।


















