काठमाडौं, असार ३२ — गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीको सहकार्यमा सार्वजनिक भएको नयाँ गीत ‘मास्टर्नी’ द्विअर्थी (डबल मिनिङ) शब्द प्रयोग गरेको आरोपपछि विवादमा परेको छ। सामाजिक सञ्जाल र युट्युबमा गीतको भाषा तथा सन्देशप्रति मिश्रित प्रतिक्रिया देखिएको छ।
गीत सार्वजनिक कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै दुर्गेश थापाले गीतलाई हेर्ने दृष्टिकोणअनुसार अर्थ फरक हुन सक्ने बताएका थिए। उनले ‘म्याथ’ शब्दको प्रयोग आफ्नो सिर्जनात्मक छनोट भएको पनि स्पष्ट पारे।
सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताले शिक्षक पेशाको गरिमासँग गीतको प्रस्तुति मेल नखाने टिप्पणी गरेका छन्। सञ्चारकर्मी तथा फिल्म निर्देशक प्रकाश सायमीले पनि गीतप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्।
उक्त गीत प्रियंका कार्कीको आगामी फिल्म ‘मास्टर्नी’ को प्रचारका लागि तयार गरिएको हो। फिल्मभित्र भने यो गीत समावेश गरिएको छैन।


















