केपि कुमार जलन
चर्चित मोडेल नारायणी खत्री अब ठूलो पर्दामा देखिने भएकी छन्। मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नारायणीले नेपाली चलचित्र ‘यानीमाया’ मार्फत फिल्मी यात्राको नयाँ अध्याय सुरु गर्न लागेकी हुन्।
शुक्रबारदेखि छायांकन सुरु भएको चलचित्र ‘यानीमाया’ नारायणीका लागि विशेष बनेको छ। यही चलचित्रमार्फत उनले पहिलोपटक ठूलो पर्दामा अभिनय गर्दैछिन्। अझ रोचक कुरा त के छ भने, उनको फिल्मी डेब्यु चर्चित अभिनेता पल शाहसँगको सहकार्यबाट हुँदैछ।
चलचित्रमा नारायणीको भूमिका कस्तो रहनेछ भन्ने विषयमा निर्माण पक्षले अहिलेसम्म रहस्य कायम राखेको छ। त्यसैले पनि उनको चरित्र र अभिनयलाई लिएर दर्शकमाझ कौतूहल बढेको छ।
फिल्मी यात्राको सुरुवातसँगै नारायणीले सामाजिक
सञ्जालमार्फत आफ्नो खुसी सार्वजनिक गरेकी छन्। आफ्नै जन्ममहिना साउनमा सपना र कर्मको नयाँ यात्रा सुरु गर्न पाउनु उनका लागि अविस्मरणीय क्षण बनेको छ। उनले आफूलाई जन्म दिने ममी–बाबुप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दै यो अवसर र विश्वासका लागि अभिनेता पल शाहप्रति समेत विशेष आभार प्रकट गरेकी छन्।
‘कामलाई शिरमा सजाएर सधैँ अगाडि बढ्न पाऊँ’ भन्ने भावसहित उनले नयाँ यात्रामा दर्शक, शुभेच्छुक र आफ्ना समर्थकबाट माया, साथ र आशीर्वादको अपेक्षा गरेकी छन्।
मोडलिङमा देखाएको आकर्षक उपस्थितिपछि अब अभिनयमा नारायणीले आफूलाई कसरी प्रस्तुत गर्छिन् भन्ने विषयमा नेपाली मनोरञ्जन क्षेत्रको नजर उनीतर्फ परेको छ। मोडलिङको ग्ल्यामरबाट ठूलो पर्दाको अभिनयसम्म आइपुगेकी नारायणीका लागि ‘यानीमाया’ केवल एउटा चलचित्र नभएर नयाँ पहिचान निर्माण गर्ने पहिलो ठूलो परीक्षा पनि हो।
पल शाहजस्ता लोकप्रिय अभिनेतासँगको सहकार्यमा सुरु भएको नारायणीको यो डेब्युले चलचित्रप्रेमी दर्शकमाझ सुरुवातमै चर्चा पाएको छ। अब ‘यानीमाया’मार्फत नारायणी खत्री मोडल मात्र होइन, अभिनेत्रीका रूपमा कति दमदार देखिन्छिन्—त्यसको जवाफ चलचित्र प्रदर्शनपछि दर्शकले दिनेछन


















