काठमाडौं, भदौ १८: बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट टनेलमा उद्धार कार्य अघि बढेको छ। उद्धार टोलीले सुरुङको मुख करिब ३ फिट खुलाएपछि १५–२० मिटरभित्र प्रवेश गरेको छ।
नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र प्राविधिकसहित ९३ जनाको टोली उद्धारमा परिचालित छ। सुरुङको मुखमा ठूलो मात्रामा भग्न संरचना र ढुंगा थुप्रिएका कारण काम चुनौतीपूर्ण बनेको छ। ७ वटा ठूला ढुंगा ब्लास्टिङ गरेर हटाउने तयारी अन्तिम चरणमा पुगेको छ।
करिब १७० मिटर लामो सुरुङ माटो र लेदोले भरिएको छ। सम्पूर्ण अवरोध हटाएर सुरुङभित्रको पावरहाउस तथा अन्य संरचनामा पुग्न सकेपछि आयोजनामा भएको वास्तविक क्षतिको विवरण स्पष्ट हुने जनाइएको छ।


















