राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले राज्य सञ्चालन भावनाभन्दा विवेक, नीति, तथ्य र तर्कका आधारमा हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विपद्को समयमा उद्धारमा देखिएको सक्रियताजस्तै विपद् पूर्वतयारी र नीतिगत कार्यान्वयनमा पनि सरकार गम्भीर हुनुपर्ने बताए।
उनले भोटेकोशीजस्ता नदीमा आकस्मिक बाढी, हिमताल फुट्ने र पहिरो जाने जोखिम बढिरहेको भन्दै बेपत्ता नागरिकको खोजीलाई वैज्ञानिक र व्यवस्थित ढङ्गले अघि बढाउन सरकारलाई आग्रह गरे।
परियारले विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान निकै न्यून भए पनि जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गरे। त्यसैले अन्तर्राष्ट्रिय मञ्चमा दया वा राहत मात्र नभई जलवायु न्याय र अधिकार माग्नुपर्ने उनको भनाइ छ। बढी कार्बन उत्सर्जन गर्ने देशबाट क्षतिपूर्ति, अनुकूलन तथा ‘हानि तथा क्षति’ कोषमार्फत सहयोग प्राप्त गर्न सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने उनले बताए।


















