काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गरेका छन् ।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले राणालाई पक्राउ गर्ने क्रममा अपनाइएको प्रक्रियामाथि प्रश्न उठाउँदै बालेन नेतृत्वको सरकार र तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा आफूले कुनै फरक नदेखेको टिप्पणी गरेका हुन् ।
‘यदि पूर्वप्रधानन्यायाधीश दोषी नै हुन् भने किन छाडेको ? निर्दोष भए राति ३ बजे किन पक्राउ गरेको ? यस्ता गतिविधिले हिजोको केपी ओलीको र बालेनको सरकारबीचमा केही पनि फरक हुँदैन,’ उनले भने ।
अदालतबाट पक्राउ पुर्जी लिएर कानुनी प्रक्रियाअनुसार पक्राउ गरिएको भए प्रश्न उठाउने ठाउँ नहुने शाहीको भनाइ थियो । उनले व्यक्तिगत इगो साँध्न राज्यसत्ताको दुरुपयोग भइरहेको आरोपसमेत लगाए ।
यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउलाई लिएर पनि उनले सरकारमाथि प्रश्न उठाए । प्रसाईंको सट्टा सहकारी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गरेको भए राम्रो हुने उनको टिप्पणी थियो ।
शाहीले फोरजी, एनसेल तथा निर्मला पन्तसम्बन्धी घटनामा समेत सरकारले गठन भएको ६ महिना बितिसक्दा प्रभावकारी कारबाही अघि बढाउन नसकेको आरोप लगाए ।
सरकारलाई प्रतिपक्षीका रूपमा आफूहरूले दिएको सुझावलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै शाहीले राज्यसत्ताको प्रयोग व्यक्तिगत स्वार्थका लागि भइरहे त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनी दिए ।
‘यसरी नै व्यक्तिगत स्वार्थ साँध्दै गयो, राज्यसत्तालाई दुरुपयोग गर्दै गयो भने तिनै जनता भोलि सडकमा आउन बाध्य हुन्छन्,’ उनले भने ।


















