ओझेलमा परेका १२ वटा दुर्लभ पेन्टिंग करिब ४५ करोड अमेरिकी डलर मूल्यमा लिलामी

दक्षिण अमेरिकाको एक प्रसिद्ध निजी संग्राहलयमा दशकौंदेखि ओझेलमा परेका १२ वटा दुर्लभ पेन्टिंग करिब ४५ करोड अमेरिकी डलर मूल्यमा लिलामी हुने भएका छन् ।

संग्रहमा भान गगको प्राकृतिक दृश्य समेटिएको ‘चेस्टनट ट्रिज इन फ्लावर’ शीर्षक पेन्टिंग समावेश छ, जसको मूल्य १८ करोड डलर अनुमान गरिएको छ । त्यस्तै, सेजानको पोर्ट्रेट ‘आर्लेक्विन’ को मूल्य १२ करोड डलर हुन सक्ने बताइएको छ । यी दुवै पेन्टिंग विगत आधा शताब्दीदेखि सार्वजनिक रूपमा देखिएका थिएनन् ।

विश्वविख्यात लिलामी गृह ‘सोथबिज’ ले आगामी नोभेम्बर १८ मा न्युयोर्कमा आयोजना गर्ने लिलामीमा डच चित्रकार भिन्सेन्ट भान गग र फ्रान्सेली चित्रकार पोल सेजानका कृतिहरूले कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ ।

यी कलाकृतिहरू दिवंगत अर्जेन्टिनी कला संग्रहकर्ता नेली एरिएटा डि ब्लाकिएर र उनका पति चिनियाँ उद्योगपति कार्लोस पेड्रो ब्लाकिएरको संग्रहबाट आएका हुन् । उनीहरूका सन्तानले यी पेन्टिंगहरू बिक्रीमा राखेका हुन् ।

सोथबिजकी इम्प्रेसनिस्ट तथा आधुनिक कला विभागकी प्रमुख हेलेना न्युम्यानले यो संग्रह पेरिसको प्रसिद्ध ‘मुसे डि ओर्से’ को सानो रूपजस्तै रहेको बताइन् । उनले भनिन्, ‘सोथबिजमा बिताएका मेरा ३० वर्षभन्दा बढीको अनुभवमा यति उच्च स्तरका कलाकृतिहरू व्यवस्थापन गर्ने अवसर पाएकी थिइनँ ।’

न्युम्यानका अनुसार भान गगले मे १८९० मा मानसिक अस्पतालबाट छुटेपछि यो पेन्टिंग बनाएका थिए, जसले उनको ऊर्जा र जीवन्ततालाई झल्काउँछ । यो पेन्टिंग बनाएको दुई महिनापछि भान गगले आत्महत्या गरेका थिए । सेजानको ‘आर्लेक्विन’ भने उनका छोरालाई जोकरको पोसाकमा उतारेर बनाइएका चार चित्रहरूमध्ये एक हो । बाँकी तीन पेन्टिंग विश्वका प्रमुख संग्रहालयहरूमा छन् ।

यस संग्रहमा क्लाउड मोनेट र क्यामिल पिसारोका पेरिस सहरका दृश्यहरू, एडगर डेगाको घोडादौड र पियरे–ओगस्ट रिनोयरको डुंगा सयरको दृश्यसमेत समावेश छन्, जसको मूल्य करोडौं डलर तोकिएको छ ।

कलाविज्ञ फिलिप हुकले यो संग्रहलाई ‘दन्त्यकथाजस्तै’ भनेका छन्, किनकि संग्रहकर्ताहरूले यी कृतिहरूलाई कुनै पनि प्रदर्शनीका लागि दिएका थिएनन् । उनले भने, ‘यसमा के–के थिए भनेर कसैलाई ठोस जानकारी थिएन । त्यसैले अहिले यी सार्वजनिक हुनु निकै उत्साहजनक छ ।’

न्युम्यानका अनुसार भू–राजनीतिक र आर्थिक अनिश्चितताको समयमा अर्बपतिहरू स्थापित र ऐतिहासिक दृष्टिले ‘मास्टरपिसहरू’ मा लगानी गर्न रुचाउँछन् । यस लिलामीमा अमेरिकी प्रविधि अर्बपतिहरू, मध्यपूर्वका संस्थाहरू र विश्वभरका धनाढ्य संग्रहकर्ताहरूबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।