५ देखि ११ वर्षका बालबालिकाका लागि खोप आइपुग्यो, पहिलो चरणमा २७ जिल्लामा लगाइने

असार ६ :  पाँचदेखि एघार वर्षमुनिका बालबालिकाले पनि कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने भएका छन् । आइतबार अमेरिकाबाट आइपुगेको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख ३ हजार २ सय मात्रा खोप वितरणका लागि सातै प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै ‘५–११ वर्षका बालबालिकालाई लक्षित गरी प्रदान गरिएका यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार र जोन्सन एन्ड जोन्सनका १५ लाख मात्रामा थपिने’ जनाएको छ ।

स्वास्थ्य सेवा विभागले पहिलो चरणमा २७ वटा जिल्लामा पहिलो मात्रा खोप लगाउन तयारी थालेको छ । जसअनुसार उपत्यकासहित काभ्रेका लागि ३ लाख ३१ हजार २ सय, वाग्मती प्रदेशका चितवन, मकवानपुर र सिन्धुलीका लागि १ लाख ४२ हजार ४ सय, प्रदेश १ का झापा, मोरङ, सुनसरी र इलामका लागि ४ लाख ८ हजार, मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्साका लागि ५ लाख ४२ हजार ४ सय डोज खोप पठाइएको छ । त्यस्तै, गण्डकीका कास्की र नवलपरासी पूर्वका लागि १ लाख ८ सय, लुम्बिनीका नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके र बर्दियाका लागि ३ लाख ९८ हजार ४ सय, कर्णालीको सुर्खेतका लागि ५२ हजार ८ सय र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेलधुराका लागि १ लाख ८७ हजार २ सय डोज पठाइएको छ ।

दोस्रो चरणमा बाँकी ५० वटा जिल्लामा पहिलो मात्रा भदौ ५ देखि ११ गतेसम्म र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाउने तयारी सरकारको छ ।

बुस्टर डोज लगाउनेबारे भने विभागले केही भनेको छैन । मुलुकमा ५–११ उमेर समूहका बालबालिका करिब ३९ लाख छन् । खोपमा मिलाउने सोडियम क्लोराइड र खेर जान सक्ने अनुमान गरेर ८४ लाख मात्रा फाइजर खोप ल्याउने सरकारको योजना छ ।