असार २१ः रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ।
दुर्घटनापछि उपचारका लागि धुलिखेल ल्याइएका थप ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो। यसअघि ९ जनाकको घटनास्थलमै मृत्यु भएको थियो। मंगलवार विहान रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानास्थित लुभुघाट नजिकै बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजकुमार थिङका अनुसार घटनास्थलमा चार महिला र पाँच पुरुषको शव फेला परेका थिए। दुर्घटनामा घाइते भएको १८ जनाको धुलिखेलमा र तीन जनाको काठमाडौंमा उपचार भइरहेको छ। दुर्घटनापछि २२ जनालाई उपचारका लागि धुलिखेल र ३ जनालाई काठमाडौं पठाइएको थियो।
हालसम्म मृतकहरूको पहिचान हुन सकेको छैन। प्रहरी उद्दार कार्यमै व्यस्त भएकाले मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। बस चालकले भने बसको ब्रेक फेल भएको बताएका छन् , बसमा रहेका यात्रीका आफन्तहरूलाई घटनास्थलमा आउन आग्रह गरिएको छ।
दुर्घटनामा परेको बसमा कति यात्रु सवार थिए भन्ने यकीन हुन सकेको छैन। दुर्घटनाको पुरै कारण समेत खुल्न सकेको छैन। दुर्घटनास्थलको बाटो ओरालो रहेको र मोडसमेत रहेकाले चालकले मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


















