असार २५ : अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले सतर्कताको बिन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ । कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु ५ मिटर पार गरिसकेकाले नदी वरिपरिका दर्जनौं गाउँ बस्ती बाढीको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जानकारी दिएको छ ।
आज दिउँसो राप्ती नदीमा पानीको सतह ५ मिटर ३६ सेन्टिमिटर पुगेको थियो। दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । आज विहानैबाट नदी क्रमिक रुपले बढ्दै गएको थियो ।
नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।


















