पहिरोपीडित परिवारलाई राहत र तत्काल बास व्यवस्था गर्न सांसदहरुको माग

साउन १७ : प्रतिनिधिसभाको आजको वैठकमा सांसदहरुले देशका विभिन्न क्षेत्रमा भएको पहिरापीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरामा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराए। उनले पहिरोपीडितलाई तत्काल राहत र पुनःस्थापना गर्नुपर्ने मागसमेत गरे।

म्याग्दी जिल्लामा दलित समुदायको बस्ती अत्यन्त जोखिममा रहेको बताउँदै उनले ती बस्तीलाई अन्यत्र स्थानान्तर गर्नसमेत माग गरे। सांसद रामबहादुर विष्टले अछाम जिल्लाका विभिन्न स्थानमा अविरल वर्षाका कारण पहिरो आउँदा मानवीय र भौतिक क्षति भएको बताउँदै पहिरापीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने माग गरे।

महेन्द्रकुमारी लिम्बूले प्रदेश १ को खोटाङ जिल्लालाई केन्द्रविन्दु बनाएर यही साउन १५ गते गएको भूकम्पका कारण भौतिक क्षति भएको बताउँदै उचित राहत र क्षतिपूर्तिको माग गरे। सांसद महेश बस्नेतले मुलुकमा महँगी, भ्रष्टाचार, हत्या, हिंसाका घटना बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए।

सांसद मीनबहादुर विश्वकर्माले बिजुलीबजारस्थित नेपाल चक्रवर्ती हवी कलेजमा शुल्क वृद्धिको विरोधमा गरिएको धर्नाका क्रममा नेपाल विद्यार्थी सङ्घका नेताहरुमाथि प्रहरीले आक्रमण गरी घाइते बनाएको भन्दै आपत्ति जनाए।

सांसद मोहन बाँनियाले कर्णाली करिडोरलाई द्रूत गतिमा अगाडि बढाउन आग्रह गरे। सांसद मोहनप्रसाद पाण्डेले पाल्पाका विभिन्न स्थानमा सडक निर्माण कार्यलाई जतिसक्दो चाँडो अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद यशोधा गुरुङ सुवेदीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका निम्ति सरकारको ध्यानाकर्षण गराइन्। सांसद रामवीर मानन्धरले संसद्मा शून्य समयमा सांसदहरुले बोलेका विषय कार्यान्वयन हुनुपर्ने बताए। सांसद रेणुका गुरुङले आफूमाथि असुरक्षा बढ्दै गएको भन्दै सरकारसँग सुरक्षाको माग गरिन् ।