प्रचण्ड भन्छन् : राष्ट्रपतिलाई मुद्दा हाल्ने तयारी भइरहेको छ

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अदालत जानेबारे छलफल भइरहेको बताएका छन्। भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्तारुढ दल रुष्ट बनेका छन्। ‘संविधानको व्यवस्था अनुसार हिजो राति १२ बजे प्रमाणीत गर्नुपर्थ्यो। तर उहाँले संविधान मिचेर प्रमाणीत नगर्ने काम गर्नुभयो र त्यही विषयमा हामी छलफल गर्‍यौँ। भर्खरै हामीले एउटा वक्तव्य निकालेर संविधानविरोधी छ भनेका छौँ। यो गलत छ भनेर हामीले वक्तव्य निकालेका छौँ।’ त्यसको विरुद्धमा आजैबाट सडक आन्दोलन सुरु भएको पनि प्रचण्डले बताए। ‘आजैदेखि त्यसका विरुद्ध सडकमा पनि विद्यार्थीहरू, युवाहरू आन्दोलित हुँदैछन्। अहिलेदेखि नै सुरु भइसकेको छ। हामीले सँगसँगै यो कुरालाई लिएर संविधानको अन्तिम व्याख्या गर्ने अधिकार संविधानको व्यवस्थाले नै अदालतलाई दिएको हुनाले अदालततिर जाने भनेर हामी अधिवक्ताहरूसँग सल्लाह गर्दैछौँ’ उनले भने।