केही नयाँकुरा सार्वजनिक गर्ने गरी गगनले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता तथा महामन्त्री गगनकुमार थापाले केही नयाँकुरा सार्वजनिक गर्ने गरी पत्रकार सम्मेलन गर्दैछन्। आज बिहान ८:३० बजे काठमाडौँको स्मार्ट ब्यांक्‍वेट चाबहिलमा पत्रकार सम्मेलन गरी थापाले कांग्रेसभित्रको विवाद तथा गठबन्धनभित्रको पनि विवादलगायतको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्।

शेखर कोइराला तथा गगन थापाको समूहले पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक बन्दसूची तयार पार्दा एकलौटी गरेको भन्दै विरोध जनाएको छ। यो समूहका नेता गुरुराज घिमिरेले आज साँझ ५ बजेसम्म सभापति देउवालाई सूची सच्याउने लगायतको सुधार गर्न अन्तिम मौका दिने र त्यसपछि पर्खिन नसक्ने बताइसकेका छन्। निर्वाचन आयोगमा पनि कांग्रेसलगायत ठूला दलले समानुपातिकतर्फको बन्दसूची सच्याउने आज अन्तिम दिन हो।

यस्तो अवस्थामा थापाको पत्रकार सम्मेलनलाई विशेष चासोका साथ हेरिएको छ। हिजोमात्रै भएको शेखर-गगन समूहको बेलामा गगनले पार्टीमा हस्तक्षेप भूमिका खेल्नुपर्ने सुझाव आएको थियो। २०४६ सालमा पार्टीमा गिरिजाप्रसाद कोइरालाले खेलेको हस्तक्षेपकारी भूमिमा अहिले गगन थापा देखिनुपर्ने आवाज उठेको भोलिपल्टै थापाले आज पत्रकार सम्मलेलन गर्दैछन्।