नवलपरासीमा विनोद चौधरीलाई चुनाव जित्न कति सहज ?

नवलपरासी । नवलपरासी पश्चिमको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएकाे छ ।

यस क्षेत्रमा पहिलो पटक प्रत्यक्षतर्फ चुनाव लड्न लागेका अर्बपति विनोद चौधरी र ५ पटकसम्म चुनाव जितेर चुनावी अनुभव बटुल्न सफल भएका पूर्वमन्त्री हृदयेश त्रिपाठीबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।

उम्मेदवारी दर्ता गराएपछि प्रचार प्रसारमा हाेमिएका दुवै जना बीचकाे प्रतिस्पर्धा रोचक बन्दै गएकाे छ ।

एमालेको समर्थनमा त्रिपाठीले जनता प्रगतिशिल पार्टीबाट उम्मेदवारी दिनुभएको छ भने नेपाली कांग्रेसबाट उद्योगपति चौधरीले उम्मेदवारी दिएका छन् ।

२०६४ सालमा एमाले र २०७४ सालमा कांग्रेसबाट समानुपातिक सदस्य बनेका चौधरीले पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा टिकट ल्याउन सफल भएका हुन् ।

जिल्लाका कांग्रेस नेताहरुको साथ खोज्दै चौधरीले दलबलसहित नवलपरासी पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।चौधरीले कांग्रेस भित्रको असन्तुष्टिको विषयमा प्रश्न गर्दा सबैको साथ पाएको दाबी गर्नुहुन्छ ।

उद्योगपति चौधरीसँगको प्रतिस्पर्धालाई नेता त्रिपाठीले पाहुना र पर्यटकको रुपमा संज्ञा दिएका छन् । चौधरीको उम्मेदवारीलाई त्रिपाठीले पाहुनालाई स्वागत मात्र गर्न सकिने तर सधैं भरी राखिराख्न नसकिने भन्दै प्रतिकृया दिनुभएको छ ।

२०४८ सालदेखि अहिलेसम्म भएका ६ वटा चुनावमा त्रिपाठीले एकपटक मात्र हारेका छन् ।