काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
खनाल निवास डल्लुमा शुक्रबार दुई नेताबीच मिलेर जाने विषयमा छलफल भएको हो । डेढ घण्टा बढी भएको वार्तामा दुई नेताबीच समाजवादी एकता र वाम ध्रुवीकरणका विषयमा छलफल भएको स्रोतले बताएको छ ।
यसअघि समेत एउटै गठबन्धनमा भएकाले अबपनि सँगसँगै मिलेर जाने विषयमा छलफल भएको थियो । प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादी र जसपा सहभागी नभएकाले एउटा समझदारी बनाएर जाने विषयमा पनि खनाल र यादवबीच छलफल भएको बताइएको छ ।
जसपाले प्रचण्डलाई समर्थन गरेपनि सरकारमा सहभागी भएको छैन । एकीकृत समाजवादी भने समर्थन गर्ने वा नगर्ने भन्ने विषयमै अन्यौलमा छ । प्रतिनिधिसभामा जसपाको १२ तथा एकीकृत समाजवादीको १० जना सांसद छन् ।
४ मंसिरको आम चुनाव अगाडि नै एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपाका अध्यक्ष यादवबीच एकीकरणका लागि छलफल भएको थियो । तर, त्यसले मूर्त रुप लिन सकेन र त्यसबेला समाजवादी एकताको विषयलाई स्थगित गरिएको थियो ।


















