पोखरा। गण्डकी प्रदेशसभामा नवनिर्वाचित सांसद सोमबारदेखि पहिलो अधिवेशनमा उपस्थिति हुँदैछन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संसदको पहिलो अधिवेशन आह्वान गरेबमोजिम सोमबार संसदको पहिलो अधिवेशन बस्न लागेको हो । बैठक दिउँसो ३ बजेको लागि बोलाइएको छ ।
प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गर्ने कानुनी व्यवस्था छ । उनले गएको मंगलबार अधिवेशनको लागि आह्वान गरे पनि सरकार गठनका लागि अझसम्म समय दिएका छैनन् ।
यता, अधिवेशनको बैठक तयारीका लागि संसद सचिवालयले बिहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ । संसद बैठकमा प्रदेशका कानुन तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले प्रदेश निजामती सेवा र स्थानीय सेवा सञ्चालनसम्बन्धी अध्यादेश टेबल गर्ने छन् ।
प्रदेशका सांसद गत पुस १४ मा सपथ ग्रहण गरेका हुन् । अघिल्लो दिन ज्येष्ठ सांसद मित्रलाल बस्याललाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । सोमबारको बैठक पनि बस्यालकै सभाध्यक्षतामा बस्ने छ ।
६० सदस्यीय गण्डकी प्रदेशसभा सबैभन्दा ठूलो पार्टी कांग्रेस हो । जसमा २७ सिट कांग्रेस, २२ सिट एमाले, ८ सिट माओवादी, २ सिट राप्रपा र १ सिट एकीकृत समाजवादीको छ । मनाङबाट स्वतन्त्ररुपमा निर्विरोध राजीव गुरुङ (दीपक मनाङे) पछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
संघमा कांग्रेस नेतृत्वको सरकार बन्ने तयारी रहँदा केन्द्रीय राजनीतिको उपलपुथलका कारण यहाँ एमाले गठबन्धनको सरकार बन्ने भएको छ । भावी मुख्यमन्त्री एमालेका खगराज अधिकारी निश्चित प्रायः छन् ।


















