यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णय

काठमाडाैं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चिताका लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने निर्णय भएको बताए।

उनले भने,‘अर्थ मन्त्रालयको प्रस्तावमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राजश्व कार्यालय स्थापना गर्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गर्ने, पोखरा विमानस्थल राष्ट्रिय गौरवका आयोजना मध्ये एक हो। कोभिडको समयलाई कटौती गर्ने हो भने तुलनात्मक रूपमा समयमा नै सम्पन्न भएको आयोजनाको रूपमा रहेको छ। यो आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने र विमानस्थलबाट यथेष्ट लाभको सुनिश्चिता गर्ने जिम्मेवारी सरकारको रहेकाले आवश्यक जनशक्ति समेत व्यवस्थापन गर्ने निर्णय गरेका छौं।’

उनले सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको जानकारी दिए।

TeachEsewanic
उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐरी र चेतन ऐरीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको पनि बताए।

उनले कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए।

‘राष्ट्रियसभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐरी र चेतन ऐरीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय, कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।’

सरकारले अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ।