काठमाडौं : सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि बिहीबार मतदान हुँदैछ। सभामुखका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेशसभा सचिव देवबहादुर बोगटीले सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेशसभा भवनमा मतदान कार्यतालिका रहेको जानकारी दिए। सुदूरपश्चिम प्रदेशको सभामुख पदमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका भीम भण्डारीलाई उम्मेदवार बनाएको छ। भण्डारीको प्रस्तावकमा एमालेकी प्रदेशसभा सदस्य जानकी बम ऐर र समर्थकमा माओवादीकी गीता माल छिन्।
सुदूरपश्चिम प्रदेशसभामा दोस्रो ठूलो दल रहेको माओवादी केन्द्रका सुदूरपश्चिममा ११ र एमालेका १० जना प्रदेशसभा सदस्य छन्। सभामुखमा मनोनयन दर्ता गराएका भण्डारी बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ।
नेपाली कांग्रेसले भने सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ। रावलको प्रस्तावकमा प्रदेशसभा सदस्य मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह छन्। सुदूरपश्चिमपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १९ जना प्रदेशसभा सदस्य छन्। सभामुखमा मनोनयन दर्ता गराएका मानबहादुर रावल अछामबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।


















