मन्त्रालय बाँडफाँटबारे सत्ता गठबन्धनमा सहमति, ८ सांसद बराबर एक मन्त्रालय

काठमाडौं । सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डामा मोटामोटी सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भएको छलफलमा सरकारमा सहभागी हुने दलहरुको आधारमा भागबण्डाको खाका तयार गरिएको हो ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच ५ घण्टा भएको छलफलमा दुई नेताबीच सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डा लगभग टुंगिएको स्रोतले जनाएको छ ।

ओली र प्रचण्डबीच ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागबण्डाको मोडालिटी तयार पारिएको छ । उक्त खाका अनुसार नै अघि बढेमा एमालेले ८ वटा मन्त्रालय पाउनेछ ।

अहिले एमालेले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय पाइसकेको छ । अब उसले ७ वटा मन्त्रालय पाउनेछ । एमालेले यसअघि १० वटा मन्त्रालयको दाबी गर्दै आएको थियो । यस्तै सरकारमा सहभागी दोस्रो ठुलो र सरकारको नेतृत्व गरेको माओवादीले ४ वटा मन्त्रालय पाउनेछ ।

माओवादीले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालय लिइसकेको छ । अव उसले ३ वटा मन्त्रालय पाउनेछ । माओवादीले यसअघि ६ वटा मन्त्रालय दावी गर्दै आएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद २० जना भएपनि उसलाई ३ वटा मन्त्रालय दिने ओली र प्रचण्डबीच सहमति भएको छ । रास्वपाबाट अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् ।

अव उसको भागमा २ मन्त्रालय पर्नेछन् । १४ सांसद रहेको राप्रपा र जसपाले दुईदुई वटा मन्त्रालय पाउने छन् । त्यस्तै जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई एकएक मन्त्रालय दिन दुई नेता सहमत भएका छन् ।