काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री छनोट गर्ने अधिकार पार्टी सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दिएको छ ।
लामिछानेले सोमबार पार्टीको संसदीय दलको भर्चुअल बैठक बोलाएर सरकारमा पठाउने मन्त्री छान्ने जिम्मेवारी लिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारमा सोमबार साँझ बस्न लागेको सत्ता साझेदार दलहरूको बैठकले मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउने बताइएको छ ।
प्रधानमन्त्री दाहालले बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर लामो कुराकानी गरेका थिए ।
साँझ सत्ता साझेदार दलहरूको बैठक बस्ने र मन्त्रीहरूको टुंगो लाग्ने भएपछि सभापति लामिछानेले संसदीय दलको बैठक बोलाएर उक्त निर्णय गराएका थिए ।
रास्वपाका सांसद मनिष झाले पार्टीको तर्फबाट निर्णय लिने अधिकार यसअघि नै सभापति लामिछानेलाई दिइएको र त्यसलाई आज बसेको संसदीय दलको बैठकले निरन्तरता दिएको बताए ।

















