जात व्यवस्था उन्मुख मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न : अध्यक्ष मण्डलको अध्यक्षमा डोलराज विश्वकर्मा

१४ जेठ, काठमाडौं । जात व्यवस्था उन्मुख मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । पाँच सदस्य अध्यक्ष मण्डलको अध्यक्षमा डोलराज विश्वकर्मालाई चयन गरेको छ ।

वैज्ञानिक समाजवादी पार्टी निकट जनवर्गीय संगठनका रुपमा रहेको जात व्यवस्था उन्मुख मोर्चा नेपालको भेलालाई उक्त पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतीले सम्बोधन गरेका थिए ।

गत जेष्ठ १० देखि १२ सम्म चितवनमा भएको भेलामा देशभरबाट प्रतिनिधिहरू सहभागी भएका थिए । साथै नागरिक समाजका ब्यक्तित्वहरु, जनवादी कलाकार सहितको उपस्थिति रहेको थियो ।

“चितवनमा सम्पन्न भेलाले पाँच सदस्यीय अध्यक्ष मण्डल सहित ५१ सदस्यीय केन्द्रिय कमिटी निर्वाचित गरेको छ । अध्यक्ष मण्डलमा क्रमशः दिप नारायण दास, शान्ती गजमेर, प्रेम गैरे, रवि नेपाली हुनुहुन्छ । जस्को अध्यक्षमा डोलराज विश्वकर्मा चयन गरेका छौं ।”, नव नियुक्त महासचिव- रुपा सुनारले समखबर संगको कुराकानीको क्रममा जानकारी दिएकी छिन ।

अध्यक्ष मण्डलको अध्यक्ष प्रत्येक छ/छ महिनामा परिवर्तन हुने नयाँ अभ्यासको थालनी समेत गरेको जानकारी समेत दिएकी छिन् ।

जात व्यवस्था विरुद्धको आन्दोलनलाई अनिवार्य रूपमा उत्पादन संग जोड्ने, अन्तरदलित भेदभाव अन्त्यको निम्ति नयाँ संगठनात्मक निति लागु गर्ने, जात व्यवस्था संग सम्बन्धित सम्पुर्ण घटनाको न्यायको निम्ति संघर्ष गर्ने प्रतिबद्धता सहित भेला सम्पन्न गरेको जानकारी प्राप्त भएको छ ।

जात व्यवस्था उन्मुलन मोर्चा नेपाल विगत लामो समयदेखि दलित हक अधिकारका लागि संघर्ष गर्दै आएको थियो ।